Sponser

Sponser
 

Unknown Unknown Author
Title: २०० कम्पनी एकै ठाउँ
Author: Unknown
Rating 5 of 5 Des:
माघ १३, २०७३- राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा बिहीबार सुरु हुने सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक–२०१७’ मा विभिन्न कम्पनीले...
माघ १३, २०७३- राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा बिहीबार सुरु हुने सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक–२०१७’ मा विभिन्न कम्पनीले आ–आफ्ना नयाँ उत्पादन, सेवा र उपभोक्ता योजना सार्वजनिक गर्ने भएका छन् । 
कम्प्युटर एसोसिएनस अफ नेपाल (क्यान) महासंघले हरेक वर्ष आयोजना गर्ने मेलाको यो २३ औं संस्करण हो । यो संस्करणमा गत वर्ष (सन् २०१६) र यस वर्षको सुरुवात (सन् २०१७) मा विश्व बजारमा विकास भएका सूचना प्रविधिसम्बन्धी पछिल्ला सामग्री र सेवा अवलोकन गर्न सकिने आयोजकले जनाएका छन् ।
‘क्यान इन्फोटेक’ नेपालको सबैभन्दा ठूलो सूचना प्रविधिसम्बन्धी मेला हो ।
‘क्यान इन्फोटेक भनेकै सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सामग्री र सेवाको नवीनतम जानकारी दिने थलो हो,’ आयोजक क्यान महासंघका अध्यक्ष विनोद ढकालले भने, ‘त्यसैलाई मध्यनजर गरेर यसपालि पनि नवीनतम जानकारी राखिनेछ ।’ मेलामा स्वदेशी तथा विदेशी गरी करिब २ सय वटा सूचना प्रविधि सम्बद्ध कम्पनीले सहभागिता जनाउँदै छन् ।
विश्वस्तरीय ब्रान्डका नेपाली अधिकृत बिक्रेतादेखि स्वदेशमै सफ्टवेयर, मोबाइल एप्लिकेसन, वेब एप्लिकेसन, सूचना प्रविधि प्रणालीलगायतका सेवा विकास गर्नेहरूले पनि मेलामा आफ्ना स्टल राख्दैछन् । 
भृकुटीमण्डपको मुख्य हल र बाहिरसमेत हुने मेलामा सूचना प्रविधि सामग्रीको प्रदर्शन, सूचनामूलक र बिक्री गर्ने छुट्टा–छुट्टै कक्षहरू रहनेछन् । ६ दिनसम्म चल्ने मेलामा प्रदर्शनी हलभित्र ४९ र बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहनेछन् । ट्रसमा १ सय ४४ र अन्य २४ गरी कुल २ सय २२ स्टल रहने आयोजकले जनाएका छन् । यसपटकको मेलालाई सुबिसु केबल नेट प्रालिले शीर्ष प्रायोजन गरेको र सामसुङले एसोसिएट प्रायोजक रहेकाले यसको नाम नै ‘सुबिसु क्यान इन्फोटेक–२०१७ इन एसोसिएसन विथ सामसुङ’ रहेको छ । 
मेलामा हार्डवेयर बिक्री तथा मर्मत, पावर सोलुसन, मोबाइल एस्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिफोन सेवा प्रदायक, सूचना प्रविधि अध्यापन गराउने कलेज, तालिम केन्द्र, सफ्टवेयर विकासकर्ता, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसनलगायतका कम्पनीले सहभागिता जनाउनेछन् । मेलामा प्रदर्शनी र उपभोक्तालाई छोएर नै अनुभव गर्न सकिने (टच एन्ड फिल) खालका सेवा दिने कम्पनीहरूले मुख्य प्रदर्शनी कक्षमा स्टल राख्नेछन् भने बिक्री गर्न चाहनेका लागि बाहिर स्टल निर्माण गरिएको छ । 
‘क्यान इन्फोटेकलाई किनमेलको थलो बनाउन चाहने ग्राहकको संख्या ठूलो छ,’ अध्यक्ष ढकालले भने, ‘त्यसलाई मध्यनजर गरेर हामीले बिक्रीका लागि छुट्टै स्टलहरूको व्यवस्था गरेका छौं ।’ बिक्री कक्षमा भने अवलोकनकर्ताले नयाँ मोडलका ल्यापटप, मोबाइल, स्मार्टफोन, एस्सेसरिज, सेक्युरिटी सोलुसन्सलगायतका सामग्री छानेर किन्न सक्नेछन् ।
ढकालका अनुसार मेलामा सहभागिता जनाउने कम्पनीहरूले बिहीबार प्रदर्शनीस्थलमै आफ्ना नयाँ सामग्री र सेवाको जानकारी दिनका लागि योजनाहरू गोप्य राखेका छन् । हरेक वर्ष हुदै आएको यो मेलाको २२ औं संस्करणमा ३ लाख ६३ हजार ४ सय ५६ जनाले अवलोकन गरेका थिए । यसपालि भने ४ लाखभन्दा बढीले अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेलाको प्रवेश शुल्क सर्वसाधारणलाई सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । अनलाइनबाट टिकट काट्नेका लागि भने २० प्रतिशत छुटको व्यवस्थासमेत गरिएको छ । आगामी आइतबारलाई भने मेलाको ‘बिजनेस डे’ तोकिएको छ । त्यसदिन भने सबैका लागि सय रुपैयाँ शुल्क तोकिएको छ । 
आईपी र डिजिटल टीभी आकर्षण 
मेलामा इन्टरनेट प्रोटोकल (आईपी) टेलिभिजन र डिजिटल टेलिभिजन आकर्षणका रूपमा रहने आयोजकले जनाएका छन् । नेपालमा भर्खरै सुरु भएकाले आईपी टीभीप्रति ग्राहकको चासो रहेकाले त्यसको जानकारी दिने गरी विभिन्न कम्पनीले स्टल राख्ने अध्यक्ष ढकालले बताए । वर्डलिंक, ब्रोडलिंक, सुबिसुलगायतका कम्पनीहरूले यस्ता सेवालाई प्रचार गर्ने गरी स्टल राख्नुका साथै विशेष छुट दिने तयारी गरेका छन् ।
यी कम्पनीहरूले उच्च गतिको इन्टरनेट सेवाका पनि भारी छुट दिने आयोजकको दाबी छ । मेलामा गएर बुकिङ गराउने ग्राहकले इन्टरनेटमा विशेष छुट पाउनेछन् । इन्टरनेटका साथ डिजिटल र आईपी टीभीका प्याकेज मिलाएर विशेष छुट दिने तयारीमा यी कम्पनी लागेका छन् । 
via ekantipur orginal link http://kantipur.ekantipur.com/news/2017-01-26/20170126091642.html
:-

About Author

Advertisement

Next
This is the most recent post.
Previous
Older Post

Post a Comment

 
Top